काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अकासिएको छ । बिहीबार बिहान साढे १० बजे बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर नाघेको हो ।
अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएयता बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ । एक महिनाकै अवधिमा करिब ४७ प्रतिशत मूल्य बढेको छ । ट्रम्पले चुनावी प्रचारकै क्रममा अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने बाचा गरेका कारण उनी निर्वाचित भएसँगै लगानीकर्ता उत्साहित भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको नयाँ घोषणाले बिटक्वाइनको भाउ थप उकालो लागेको हो । ट्रम्पले सेक्युरिटिज एन्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेपछि बिटक्वाइनको मूल्य थप अकासिएको सीएनबीसीले जनाएको छ ।
एटकिन्सले अमेरिकामा क्रिप्टोमैत्री नीतिको विकास गर्ने अनुमान पनि सीएनबीसीले गरेको छ । ट्रम्प निर्वाचित भएयता बिटक्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीहरु इथरियमलगायतको मूल्य पनि उकालो लागेको छ ।
के हो बिटक्वाइन ?
बिटकोइन भनेको एउटा क्रिप्टोकरेन्सी हो । यसलाई एक प्रकारको डिजिटल मुद्रा पनि भन्न सकिन्छ । डलर वा पाउन्डजस्ता परम्परागत मुद्राजस्तै यो कुनै केन्द्रीकृत वित्तीय निकायद्वारा नियन्त्रित हुँदैन ।
यही विशेषताका कारण यो मुद्रामा वित्तीय स्वतन्त्रता बढी हुन्छ भनेर ठान्नेहरूमाझ लोकप्रिय भइरहेको छ । बजारमा आउने लहरले यसको मूल्य धेरै नै तल–माथि हुन्छ अर्थात् यसको विशेषता अस्थिर हुन्छ । यसको मूल्य जति तीव्रताका साथ बढ्छ, त्यति नै तीव्रताका साथ घट्ने गरेको छ ।