कालीकोट । कालीकोटको तिलागुफा गाउँपालिका-४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी भएका छन् ।
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पन्तले बताए ।
कूल ६ सय ९ मतदातामध्ये निर्वाचनमा ४ सय ११ ६७.४८ प्रतिशत मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए ।
चार मत बदर भएको थियो । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।