खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा निरीक्षकको लापर्वाहीले फेल भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।
केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।
२०८० चैत २० गते पृथ्वी मावि बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज १३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि कात्तिक ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिए ।
हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधार भएपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले बताए ।
छात्रातर्फ थर्पुडाँडा माविकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएकी थिइन् । केपिलासगढी गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहन स्वरुप एक–एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ ।
गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माविका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ ।
उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही भएको छैन ।