एजेन्सी । सप्ताहन्तमा वायु गुणस्तर सूचकांक रेकर्ड उच्च विन्दुमा पुगेपछि पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।
एक करोड ४० लाख जनसंख्या भएको लाहोर सहरमा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी र अन्य रोगबाट जोगाउने उद्देश्यले यो कदम चालिएको हो । सरकारले सबै लाहोरबासीलाई मास्क अनिवार्य लगाउन अपिल गरेको छ ।
सहरमा ‘हरित लकडाउन’को हिस्साका रूपमा ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्नुपर्ने सरकारले बताएको छ । साथै, फिल्टरबिना बार्बेक्यू गर्न प्रतिबन्ध लगाइएको छ भने मोटरचालित रिक्साहरूलाई सीमित गरिएको छ । विवाह हलहरू राति १० बजे बन्द गर्नुपर्नेछ । प्रदूषणसँग लड्न कृत्रिम वर्षा गराउने पाकिस्तान सरकारको तयारी छ ।
सप्ताहन्तमा लाहोरमा वायु गुणस्तर सूचकांक एक हजार नाघेको छ । यो पाकिस्तानमा रेकर्ड उच्च हो ।
भारतसँग सीमा जोडिएको पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा गत महिनादेखि वायु गुणस्तर बिग्रन थालेपछि विषाक्त खैरो धुवाँले दसौँ हजार मानिस त्यसमा पनि बालबालिका र वृद्धवृद्धाहरूलाई बिरामी बनाएको छ ।
सरकारले केही क्षेत्रमा निर्माण कार्यमा पनि प्रतिबन्ध गरेको छ र धुवाँ उत्सर्जन गर्ने सवारी साधनका मालिकहरूलाई जरिवाना गरेको छ । सरकारी सूचनाअनुसार प्रदूषणका कारण विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।
पञ्जाब वातावरण संरक्षण विभागका अनुसार हावामा पीएम २.५ वा सूक्ष्म कणको मात्रा ४५० नजिक पुगेको छ र यसलाई खतरनाक मानिन्छ ।
लाहोर एक समय बगैँचाहरूको सहरका रूपमा चिनिन्थ्यो र यो १६औँ देखि १९औँ शताब्दीसम्मको मुगल कालमा सर्वव्यापी थियो । यद्यपि, द्रुत सहरीकरण र जनसंख्या वृद्धिले हरियालीका लागि थोरै ठाउँ मात्र बचेको छ ।