• Menu

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकी राष्ट्रपति निर्वाचन : चुनावी प्रचारप्रसारमै १० अर्ब ५३ करोड डलर खर्च, पेन्सलभेनियामा मात्रै ११ प्रतिशत

नेपाल प्रफिट

२०८१ कात्तिक २०, ११:३९

अमेरिकी राष्ट्रपति निर्वाचन : चुनावी प्रचारप्रसारमै १० अर्ब ५३ करोड डलर खर्च, पेन्सलभेनियामा मात्रै ११ प्रतिशत

अमेरिका । विश्वभर निकै प्रतीक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि आज मतदान भइरहेको छ । करिब १७ करोड अमेरिकी मतदान गर्न उत्साहित छन् । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउन्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य)को नामकरण गरिएका स्थानमा केन्द्रित थियो ।

मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

यसपटकको निर्वाचनमा पनि विगतमा जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेन्डा तय गरेका छन् ।

कोभिड महामारीपश्चात् अर्थतन्त्रले केही चलायमान हुने संकेत गरे पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु र इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अंगीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्ने गरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता, अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।

स्वीङ राज्यहरु निर्णायक

अमेरिकाका ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सलभेनियामा छ ।

यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा ट्रम्पले पाँचवटा स्विङ राज्यमा जित हासिल गरेर निर्वाचित भएका थिए । सन् २०२० मा जो वाइडेन ६ वटा राज्यमा जित हासिल गरेर राष्ट्रपति बन्न सफल भए ।

पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा र सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेको एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर १० अर्ब ५३ करोड डलर विज्ञापनमा खर्च गरिएकोमा ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएको छ ।

कुल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु भइरहेको छ ।

नेपालीहरुको मत निर्णायक हुन सक्छ ?

ब्याटल ग्राउन्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।

नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्ग पुगेका अमेरिकी राजनीतिज्ञ डा. ह्यारी भण्डारीले यो स्थानले निर्वाचनलाई निर्णायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्यान्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारीले हरेक मतको मूल्य हुने बताए ।

‘हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ,’ उनले भने ।

राजनीति भनेको पद र प्रतिष्ठामात्र नहुने र यसले मानिसका जीवनमा आइपर्ने अनेकन् समस्यासँग जुझ्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीतिगत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्ने उनको टिप्पणी छ । ‘त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ भण्डारीले भने ।

पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो ब्याटल ग्राउन्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने धारणा उनले राखे ।

स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले राजनीतिक विश्लेषण गर्दा यसपटक निकै प्रतिस्पर्धा हुने देखिएको बताए । ‘यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ,’ उनले भने, ‘हामीले पेन्सलभेनियामा रहेका नेपाली भाषीलाई भोट हाल्न प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामी मतदान गर्न प्रेरित गरिरहेका छौँ ।’

पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिय सहभागिता जनाउन नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । ‘हामीले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दै आएका छौँ, त्यसैले यसपटक धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिने विश्वास छ,’ उनले भनिन् ।

पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे । यसैगरी प्रकाश ढुंगानाले भने, ‘एक नागरिकका रुपमा हामीले मतदानमा भाग लिएर आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ, जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।’

नेपालीहरु पनि दुवै पक्षधर

आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपाली देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोस्टहरु राखेका छन् ।

ब्याटल ग्राउन्ड स्टेटको विश्लेषण

अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी) मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।

चुनावी र्‍यालीको अन्तिम

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी छन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा सम्बोधन गरेका छन् ।

अमेरिकाको यसपटकको निर्वाचनले २४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्छ वा पूर्वराष्ट्रपति ट्रम्प दोस्रोपटक ह्वाइट हाउस पुर्‍याउँछ भन्ने विषयको निर्क्यौल आज हुने निर्वाचनले गर्नेछ ।

कुल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेको तथ्यांक छ । कुल इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा जित हासिल गर्न सक्नेछन् ।

(मधुकर अधिकारी/रासस)