काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । सोमबार र मंगलबार लगातार ४६.६९ र २७.४१ अंकले बढेको बजार बुधबार १४.४३ अंकले ओरालो लागेको हो ।
होटल, निर्जीवन बिमा र व्यापार समूहमा हरियाली छाए पनि बाँकी १० उपसमूह राताम्य भएपछि समग्र बजार परिसूचक नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ अंकमा ओर्लिएको छ ।
होटल समूह २.५२ प्रतिशतले बढेको छ । ६ कम्पनी रहेको यो समूहमा आज सोल्टी होटल, चन्द्रागिरि हिल्स, सिटी होटल र तारागाउँ रिजेन्सीको मूल्य बढेको छ भने कालिञ्चोक दर्शन र ओरियन्टल होटलको सेयर मूल्य घटेको छ ।
मंगलबार लाभांश घोषणा गरेको सोल्टीको सेयर मूल्य यो समूहमा सर्वाधिक ५.१३ प्रतिशत बढेर ५६३ रुपैयाँ ५० पैसा पुगेको छ ।
बजार घट्दा पनि आज ७५ कम्पनीका सेयरधनीले कमाएका छन् । आज ३०५ कम्पनीको ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।