एजेन्सी । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेको पुस्तकको १० लाख प्रति एक सातामै बिकेका छन् । लघु कथाकार र उपन्यासकार हान म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि परिचित छिन् । उनको ‘द भेजिटेरियन’ अंगेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो ।
नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका ५३ वर्षीया हानलाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्विडिस एकेडेमीले गत साता जनाएको थियो ।
हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ । नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूका वेबसाइटमा उनका कृतिको माग ह्वात्तै बढेको थियो । दसौँ हजार मानिसले उनका कृति माग गर्न थालेपछि बजारमा अभाव देखिएको छ ।
गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा विक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन् ।
हानले उच्च शिक्षा हासिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । उनको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो, जसले हानको प्रशंसित उपन्यास ‘ह्युमन एक्ट्स’ लेख्न उनलाई प्रेरित गरेको थियो ।
हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन् ।