• Menu

म्याग्दीको खबरा गाउँभर केराखेती, हरेक वर्ष दुई करोड आम्दानी

नेपाल प्रफिट

२०८१ असोज २९, १३:१२

म्याग्दीको खबरा गाउँभर केराखेती, हरेक वर्ष दुई करोड आम्दानी

म्याग्दी । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुक कोट र पुछारमा कलकल बगेको कालीगण्डकी । बीचमा बेनी नगरपालिका-२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैंचाले मनोहर छ ।

करिब एक सय ५० परिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक केराखेती गरेका छन् । स्थानीय कृषक नारायण सापकोटाका अनुसार केरा बिक्री गरेर वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम गाउँ भित्रिने गरेको छ ।

२०५७ सालमा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत घिमिरेले बताए । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर लगाएसँगै खबरामा व्यावसायिक केराखेती सुरू भएको हो ।

‘खबरामा केराखेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनीभन्दा बढी जग्गामा फैलिएको छ,’ उनले भने, ‘गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।’

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी केरा लगाएका छन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक सात लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

‘भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ,’ उनले भने, ‘केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ ।’

यामबहादुर घिमिरे, जगत घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केराखेती मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबाली विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेका छन् । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,’ अर्का कृषक जगतबहादुर घिमिरेले भने ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक न्यूनतम् ३० हजारदेखि १० लाखसम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका-२ का अध्यक्ष यामबहादुर कार्कीले बताए । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ किसानको आकर्षण बढेको उनी बताउँछिन् । खबरामा बाइस नङ्ग्रे, मालढुंग्रे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।