• Menu

गोरखामा बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मतपछि सञ्चालन

नेपाल प्रफिट

२०८१ असोज २५, शुक्रबार २१:०४

गोरखामा बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मतपछि सञ्चालन

गोरखा । त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुंगे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुंगे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो ।

‘सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो,’ थापामगरले भने ।

स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । ‘बाढीले पुलको लट्ठामा क्षति पुर्‍याएको थियो,’ उनले भने, ‘टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।’

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुंगे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।