• Menu

धरानमा प्रहरीले बढायो सुरक्षा, चेकिङमा तालिम प्राप्त कुकुरको प्रयोग

नेपाल प्रफिट

२०८१ असोज २०, १३:१८

धरानमा प्रहरीले बढायो सुरक्षा, चेकिङमा तालिम प्राप्त कुकुरको प्रयोग

सुनसरी । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शंकास्पद स्थानमा जाँच सुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शंकास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शंकास्पद  वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।’

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने तिमल्सिनाले बताए ।