• Menu

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थीको चाप, व्यवस्थापनमा चुनौती

नेपाल प्रफिट

२०८१ असोज ४, शुक्रबार १०:२२

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थीको चाप, व्यवस्थापनमा चुनौती

महोत्तरी । सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा रहेको जनता माध्यमिक विद्यालय भरतपुरखोरमा डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यार्थी संख्या निकै बढेको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए ।

प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी संख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय चलिरहेकै समयमा कक्षा छाडेर भाग्ने जस्ता समस्या थियो ।

कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलापसमेत गर्दै आएका थिए । तर, अहिले उक्त विद्यालय यस क्षेत्रकै नमुनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा अहिले एक हजार १६९ विद्यार्थी अध्ययनरत छन् भने थप विद्यार्थी भर्नामा रोक लगाइएको छ ।

कक्षाकोठा तथा अन्य भौतिक संरचना र शिक्षकको अभावका बीच अंग्रेजी माध्यममा पढाइ सुरु गरिएपछि गाउँटोलमा रहेका निजी विद्यालयमा पठनपाठन गरिरहेका बालबालिका जनता मावि आउन थालेका छन् ।

निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताए । उनका अनुसार कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको छ ।

विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गर्दा निकै कठिनाइ भए पनि अहिले विद्यार्थी तथा शिक्षक सबैका लागि नयाँ दैनिक शैक्षिक कार्यतालिका लागू गरिएकाले विद्यार्थी तथा शिक्षक अनुशासित भएर आ–आफ्ना जिम्मेवारी पूरा गर्न निर्देश गरिएको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए ।

विद्यालयमा १७ शिक्षकको मात्रै दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप ९ शिक्षक बहाली गरी २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको छ ।

अंग्रेजी माध्यममा पढाइ सुरु भएपछि निजी स्रोतका शिक्षकको पारिश्रमिक, कक्षाकोठा र नियमित पठनपाठनको  व्यवस्थापन गर्न कठिनाइ भएको थियो । तर, विद्यालयमा कार्यरत शिक्षकले आफ्नो काम, कर्तव्यप्रतिको समर्पण, व्यवस्थापन समितिको सक्रियता र अभिभावकको सहयोगमा यो विद्यालय अहिले पूर्ण रुपमा व्यवस्थितका साथ अगाडि बढिरहेको छ ।

विद्यार्थीको बढ्दो चापकै कारण अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए । गाउँबस्तीमै अंग्रेजी माध्यमबाट पठनपाठन हुँदा विद्यार्थी पनि खुसी छन् ।

विद्यालयको आयस्रोत केही नरहेकाले अंग्रेजी माध्यमको पठनपाठन, भौतिक संरचना अभाव र नियमित गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकलाई तलब सुविधाबापत दिनुपर्ने दायित्व बढेको छ । व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गरेका छन् ।