• Menu

भोजपुरको अकबरे खुर्सानी प्रतिकिलो ३ सयका दरले बिक्री

नेपाल प्रफिट

२०८१ असोज २, बुधबार ११:१९

भोजपुरको अकबरे खुर्सानी प्रतिकिलो ३ सयका दरले बिक्री

भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । उनले भने, ‘अहिले प्रतिकिलो २ सय ५० देखि ३ सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।’

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येको एक हुन् ।

१० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनले ५ वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालन फार्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका हुन् ।

‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ,’ राईले भने । २ लाख खर्च गरेर २ हजार ५ सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ ।

यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन् ।

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू-भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।