• Menu

मनहरिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

नेपाल प्रफिट

२०८१ असोज १, १६:१४

मनहरिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

हेटौँडा । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिएका छन् । मनहरी-५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आएका छन् । सोही कोषबाट २ लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिएको उनले जानकारी दिए । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनले वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् ।

‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पार्‍यो । आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, धन्यवाद,’ सोनीले भनिन् ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए । अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधाबापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताए । उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।