• Menu

नवलपरासीमा १९ करोड ४२ लाख लागतमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण

नेपाल प्रफिट

२०८१ असोज १, १४:५६

नवलपरासीमा १९ करोड ४२ लाख लागतमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम जिल्लाको सुनवल नगरपालिका‐२ मा ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिए ।

डेढ बिघा जग्गामा ५ वटा चेम्बर भएको शीतभण्डार १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । ५ वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले २ सय ५० बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए ।

उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको ५ वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक २ करोड ५० लाख राजस्व संकलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।

पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तुुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।