ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् ।
नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार ललितपुरमा आयोजित ‘अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन’मा उनले नेपालको अर्थतन्त्र क्रमशः सुधार हुँदै निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढी प्रगति गरेको बताएका हुन् ।
‘नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको यात्रा पनि अघि बढाएको छ,’ उनले भने, ‘२०१६/१७ मा ब्याजदर करिडोरको सुरुवात र २०२०/२१ मा रिजर्भ लक्ष्यबाट ब्याजदर लक्ष्यतिर सर्दै मौद्रिक नीति प्रसारणको प्रभावकारिता बढाउने उद्देश्यले यी परिचालन सुधार क्रमशः हुँदै आएको छ ।’
प्रभावकारी तरलता व्यवस्थापनका लागि २०२३/२४ मा स्थायी निक्षेप सुविधा, हालैका नीतिगत सुधार, मौद्रिक नीति सञ्चालनको आधुनिकीकरण, ऋणको गुणस्तर अभिवृद्धि, डिजिटल बैंकिङ र फिनटेकमा जोड, आधुनिक भुक्तानी प्रणालीको विकास र त्यसलाई विश्व बजारमा एकीकरण गर्ने र वित्तीय सुदृढीकरणका उपायलाई निरन्तरता दिनेमा राष्ट्र बैंकित रहेको उनले बताए ।
देशको दिगो आर्थिक वृद्धिलाई परलक्षित गर्दे राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको र यस सम्मेलनले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रको विश्लेषणात्मक अध्ययन मा टेवा दिँदै नीति निर्माणमा पनि सघाउने उनको भनाइ छ ।
‘विकसित विश्वव्यापी परिदृश्यमा नेपालको समष्टि आर्थिक अवस्था र दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न सुधार गर्दै लचिलो वित्तीय क्षेत्र निर्माण गर्न आवश्यक छ,’ गभर्नर अधिकारीले भने, ‘विश्व बजारको अन्तरसम्बन्धलाई आर्थिक गतिविधिमा विश्वव्यापी झट्काको प्रभाव कम गर्न नीतिगत मेलमिलाप आवश्यक छ ।’
सम्मेलनले वित्तीय स्थिरता, मौद्रिक नीति र समग्र वित्तीय विकासमा प्रमाणमा आधारित नीतिगत अन्तरदृष्टि प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । सम्मेलनले शैक्षिक समुदाय र केन्द्रीय बैंकिङ संस्थाबीचको गतिशील संवादलाई प्रोत्साहन गर्ने, प्रमाणमा आधारित नीति निर्माणलाई बढावा दिने तथा आर्थिक विज्ञानको विकासमा योगदान पुर्याउने उनले बताए ।
‘हाम्रो फोकस मौद्रिक र म्याक्रोप्रुडेन्सियल नीतिहरू बीचको राम्रो समन्वयमा छ । बैंकिङ क्षेत्रले दिगो आर्थिक विकासमा टेवा पुर्याउने र सम्पत्तिको बुलबुलेको जोखिमलाई कम गर्न सक्ने सुनिश्चित गर्न उत्पादनशील क्षेत्रतर्फ ऋण प्रवाह गर्ने प्रयास गरिरहेका छौँ । हामीले वित्तीय समावेशीकरणलाई पनि प्रवर्धन गर्दै आएका छौँ,’ उनले भने ।
खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित रहेर गुणस्तरीय अनुसन्धानका लागि यस सम्मेलनले महत्त्वपूर्ण सन्दर्भहरुको उजागर गर्ने बताए ।
त्यस्तै कार्डिफ विश्वविद्यालय बेलायतका अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक कुल लुइँटेलले अर्थशास्त्र, वित्त, व्यवस्थापन र सम्बन्धित विषयमा अत्याधुनिक अनुसन्धान प्रस्तुत गर्न र छलफल गर्न साझा मञ्च प्रदान गरेर नेपाली शिक्षाविद्हरूको क्षमता निर्माण र सञ्जाल निर्माणमा योगदान दिन सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
नेपाल खुला विश्वविद्यालयले बेलायतस्थित कार्डिफ विश्वविद्यालयलगायत नेपाल राष्ट्र बैंक, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।
दुई दिन चल्ने सम्मेलनमा नेपालसहित चीन, बेलायत, नर्वे र स्पेनका ६० जना अर्थविद्को सहभागिता छ । सम्मेलनमा विश्वव्यापी अनुसन्धानकर्ता र अभ्यासकर्ताले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित रहेर विज्ञहरुले तयार पारेका १० वटा कार्यपत्रमा छलफल हुनेछन् ।