काठमाडौं । सबै वाणिज्य बैंकको आधार दर घटेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर साउनको तुलनामा भदौमा ०.२५ प्रतिशतले घटेको हो ।
साउनमा औसत ८.१७ प्रतिशत रहेको आधार दर भदौका लागि ७.९२ प्रतिशतमा झरेको छ । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन सक्ने व्यवस्था छ ।
तर, अहिले अधिक तरलताका कारण कतिपय बैंकले केही क्षेत्रमा ०.५ प्रतिशतमात्र प्रिमियम थप गरेर पनि कर्जा प्रवाह गरिरहेका छन् । आधार दर कम हुँदा ऋणको ब्याजदर स्वत: कम हुन्छ ।
भदौका लागि २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ भने सबैभन्दा बढी एनआईसी एसिया बैंकको छ ।
भदौका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले आधार दर ६.२२ प्रतिशतमा झरेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत छ । एनआईसी एसिया बैंकको आधार दर सबैभन्दा धेरै ९.२२ प्रतिशत छ । माछापुच्छ्रे बैंकको ८ प्रतिशत छ भने अरु ७ वटा बैंकको ८ प्रतिशतभन्दा माथि छ ।
सामान्यत: कम आधार दर भएको बैंकबाट सस्तो ब्याजमा कर्जा पाइन्छ भने बढी आधार दर भएको बैंकबाट कर्जा लिँदा महँगो पर्छ । आधार दरका साथै कर्जाको ब्याज मूलत: बैंकहरुले ऋणीलाई कति प्रिमियम थप्छन् भन्नेमा भर पर्छ ।
भदौका लागि कुन बैंकको आधार दर कति ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक- ६.२२
राष्ट्रिय वाणिज्य बैंक- ६.६६
एभरेस्ट बैंक- ७.२९
नबिल बैंक- ७.४२
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक- ७.४६
नेपाल बैंक- ७.५४
ग्लोबल आईएमई बैंक- ७.७७
सानिमा बैंक- ७.८३
सिद्धार्थ बैंक- ७.९३
प्रभु बैंक- ७.९५
कृषि विकास बैंक- ७.९६
एनएमबी बैंक- ७.९८
माछापुच्छ्रे बैंक- ८
नेपाल एसबीआई बैंक- ८.११
लक्ष्मी सनराइन बैंक- ८.३९
सिटिजन्स बैंक- ८.४२
हिमालयन बैंक- ८.५३
प्राइम कमर्सियल बैंक- ८.५७
कुमारी बैंक- ८.९
एनआईसी एसिया बैंक- ९.२२