• Menu

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का चयन

नेपाल प्रफिट

२०८१ भदौ १८, १०:४९

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का चयन

पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्ष पदमा सूर्य खड्का चयन भएका छन् । लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा, मनोज कठायत, नरेश भाट, जयसुजन केसी र महिला उपाध्यक्षमा कल्पना भण्डारी चयन भएका छन् । समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा विवश कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन गरेको समाजले जनाएको छ । समाजका अध्यक्ष कमल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  हेम सुवेदी, समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कालगायतले शुभकामना व्यक्त गरेका छन् ।

समाजले विश्वभरका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष घिमिरेले बताए । विश्वभरका विभिन्न ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको छ ।