पर्सा । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण ५ हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।
प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म २ जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका-४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह नगरपालिका-७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार ८ सय १० घरधुरीमा बसोबास गर्ने ५ हजार ५९५ जना विस्थापित भएको जानकारी दिए । ‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार २ सय ४५ घर डुबानमा परेका जानकारी छ,’ उनले भने, ‘ जिल्लाका ७ ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म ३ ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका ८ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।’
विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।