• Menu

म्याग्दीमा एक करोड लागतमा जौ र उवाको व्यावसायिक खेती सुरु

नेपाल प्रफिट

२०८१ असोज १४, ११:२२

म्याग्दीमा एक करोड लागतमा जौ र उवाको व्यावसायिक खेती सुरु

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका-५ झिँमा परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वधन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जै र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले परियोजना लागू भएको हो ।

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा एक करोड लागतको परियोजना सुरु भएको रघुगंगा गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए । “लोप हुँदै गएको परम्परागत जै र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ,’ उनले भने, ‘जौ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।’

परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जै र उवाखेती गरिने भएको छ । परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए ।

किसानलाई सूचीकरण गरी परम्परागत जौ  र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए ।

झिँका होटल र होमस्टेमा जौ  र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जै र उवाको   खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।

जै  हिन्दू धर्मावलम्बीहरूको र जौको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।