• Menu

पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

नेपाल प्रफिट

२०८१ असोज १०, १७:०८

पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् ।

सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको संयोजनमा बिहीबार पोखरामा आयोजित पर्यटन विकासका लागि नवीनतम दृष्टिकोण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रुपमा विकास गर्न आफ्ना कार्यक्रम अगाडि ल्याएको जानकारी दिए ।

सीमित स्रोत साधनबीच पनि यहाँका पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रर्वधन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै पाण्डेले पोखरामा संसारभरिका नागरिकलाई आकर्षित गर्ने थलोका रुपमा विकास गर्ने बताए ।

यहाँ आउने पर्यटकका लागि सडक र हवाई मार्ग सहज बनाउनुका साथै उनीहरु स्वतन्त्र रुपमा घुम्न पाउने वातावरण सरकार र पर्यटन व्यवसायीले बनाउनुपर्नेमा उनले जोड दिए ।

विदेशी पर्यटक ट्रेकिङ, प्राकृतिक सुन्दरता, धार्मिक तथा साहसिक खेलका लागि नेपाल आउने गरेकाले प्रकृतिको धनी पोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले बढीभन्दा बढी बजेट विनियोजन गरेको पाण्डेले बताए ।

भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी नवलपुरको त्रिवेणीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म गौरवको योजनाअन्तर्गत सडक मार्ग निर्माण कार्यलाई अगाडि बढाइएको र गण्डकी प्रदेशबाट सातवटै प्रदेशमा हवाई यातायात सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न आफैँले विभिन्न देशका प्रतिनिधि र एयरलायन्स कम्पनीसँग कुराकानी गरिरहेको पाण्डेले जानकारी दिए । पर्यटकीय पदमार्ग सडकका कारण लोप हुँदै गएकाले गण्डकी प्रदेश सरकारले कास्कीको माछापुच्र्छे सर्किटलाई नयाँ पदमार्गका रुपमा विकास गर्न लागेको जानकारी दिँदै उनले कास्कीबाट मनाङ जान कास्कीका उत्तरपूर्वी गाउँबाट मनाङ जाने पदमार्गको खोजी भइरहेको बताए ।

पर्यटक लक्षित गरी सबैभन्दा उच्च स्थान मनाङमा हाइअल्टिच्यूट खेलमैदानको निर्माण कार्य प्रदेश सरकारका तर्फबाट भइरहेको पाण्डेले बताए । पोखरालाई योग शिविरका रुपमा विकास गरी विदेशी पर्यटक तान्न सकिने उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले पर्यटन नीति बनाएर विदेशी पर्यटक बढीभन्दा बढी भित्र्याउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । विविधतापूर्ण नेपालमा आउने विदेशी पर्यटकको संख्या अत्यन्तै न्यून भएकाले भारत र चीनबाट मात्र पर्यटक तान्न सके पनि पोखरामा लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

पर्यटनविज्ञ विश्वास गौचनले पर्यटनका लागि सामाजिक उद्यमशीलता र नवप्रवर्तन विषयमा आधारपत्र प्रस्तुत गर्दै पर्यटकीय रुपमा सम्भावना नै सम्भावना रहेको गण्डकी प्रदेशमा स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर अगाडि बढ्न जरुरी भएको बताए ।

‘विविधतापूर्ण नेपालमा जुन रुपमा विदेशी पर्यटक आउनुपर्ने थियो त्यो संख्या अत्यन्तै न्यून हो, हामीले पर्यटन विकासका लागि खर्च गरेको रकम पनि सही ठाउँमा नहुँदा पर्यटन क्षेत्रको प्रर्वधन हुन सकेको छैन,’ उनले भने ।