• Menu

गाउँ फर्किनेलाई ६ महिना पाल्ने महाशिला गाउँपालिकाको अफर, थप एक लाख अनुदान

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार ११:०९

गाउँ फर्किनेलाई ६ महिना पाल्ने महाशिला गाउँपालिकाको अफर, थप एक लाख अनुदान

पर्वत । शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा सहर पस्ने र देश छाड्नेहरुको लर्को लागेपछि स्थानीय तहहरुले गाउँ फर्काउन आकर्षक सुविधा घोषणा गर्न थालेका छन् । युवा बाहिरिएर गाउँ उजाड र जमिन बन्जर बन्न थालेपछि पालिकाहरुले आकर्षक अफरसहित फर्काउने प्रयास थालेका हुन् ।

यस्तो कामको सुरुवात पर्वतको महाशिला गाउँपालिकाले थालेको छ । गाउँ छाडेर अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किए महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च व्यहोर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । गाउँ फर्केकाहरूलाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउनेछ ।

त्यसका लागि चामल, दाल, तेल, तरकारीका निम्ति अनुदान दिइनेछ । अध्यक्ष भुसालका अनुसार गत एकै वर्षमा महाशिला गाउँपालिकाबाट ९३ परिवारका ३२५ जना बसाइँ सरेका छन् ।