• Menu

कञ्चनपुर कारागारमा १२५ को क्षमतामा ५३४ कैदी, व्यवस्थापनमा ठूलो चुनौती

नेपाल प्रफिट

२०८१ असोज ८, १७:०१

कञ्चनपुर कारागारमा १२५ को क्षमतामा ५३४ कैदी, व्यवस्थापनमा ठूलो चुनौती

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिए ।

कैदीबन्दीका लागि बस्नका लागि ठाउँ नहुँदा ‘ग्यालरी’ लगायतका खाली ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् ।

‘पछिल्लो सयम लागुऔषध मुद्दाका कैदी धेरै आउने गरेका छन्,’ थापाले भने, ‘अहिले ८ जना महिला गरी २०६ जना लागुऔषध मुद्दाका कैदी कारागारमा छन् ।’ उनले जिल्ला कारागारमा जग्गा पर्याप्त भए पनि बन्दीका लागि भौतिक संरचना र ढल निकासको व्यवस्था नहुँदा समस्या भएको बताए ।

कारागारमा ठाउँ अभावकै कारण कैदीबन्दीले कारखानासमेत सञ्चालन गर्न नसकेको प्रशासनले जनाएको छ । ‘बन्दीहरुले आफ्नो सीपअनुसारका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन्,’ उनले भने, ‘त्यसका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको छ ।’ उनका अनुसार कन्दीहरुले कुर्सी, टेबललगायत सामग्री बनाउने गरेका छन् ।

‘बिक्री गर्नका लागि समस्या हुँदैन, बाहिरबाट ‘अर्डर’ दिएर जान्छन्,’ उनले भने, ‘बजार मूल्यभन्दा यहाँ धेरै सस्तो पाइने भएकाले पनि यहाँ किन्नलाई आउँछन् ।’

त्यसैगरी, गत भदौमा कारागारले सरकारको निर्णयअनुसार १४ जना कैदीको ३३ प्रतिशत कैद मिनाहा गरेको छ । लागुऔषध र वन्यजन्तु मुद्दाका कैदीलाई सरकारले ३३ प्रतिशत कैद मिनाहा गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।