पर्सा । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा ८ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई भदौसम्म ९ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालु आर्थिक वर्ष साउनमा ३ अर्ब ७५ करोड २२ लाख ११ हजार संकलन गरेको थियो भने चालु आर्थिक वर्ष भदौमा भने ४ अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गरेको छ ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए ।
‘भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९.२८ प्रतिशत राजस्व संकलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८.५० प्रतिशत राजस्व संकलन गरेका छौँ,’ उनले भने, ‘भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व संकलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत संकलन हुन भने सकेन ।’
भन्सार विभागले कार्यालयलाई ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३.९८ प्रतिशत राजस्व संकलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए । कार्यालयले आव २०८०/८१ को भदौसम्ममा भने ८ अर्ब ६५ करोड २० लाख ५९ हजार राजस्व संकलन गरेको थियो ।
त्यस्तै आव २०७९/८० को भदौसम्ममा ७ अर्ब ६० लाख २२ लाख ३४ हजार राजस्व संकलन गरेको थियो ।