काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स प्रालि तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एमएडब्लू वृद्धि मोटर्स एवं एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरु दिपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध हुनेछ ।
दिपल र सेरेस ब्रान्डका विद्युतीय गाडी नेपाली प्रयोगकर्तामाझ लोकप्रिय छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरु गरिसकेको छ ।
ग्रिन फाइनान्सिङ प्रवर्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।