काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई चुक्तापुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि .५२६ प्रतिशत नगद लाभांश हुनेछ ।
सञ्चालक समितिले बैठकले हकप्रद भने पुनरावलोकन गरेको छ । अब बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी चार अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशतबराबर हकप्रद सेयर जारी गर्ने पनि निर्णय भएको छ ।
यसअघि कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजी कायम गर्न १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रदमा पुनरावलोकन गरेको जनाइएको छ ।
कम्पनीले गत वर्ष पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक कागजातसहित १७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आवदेन दिएको थियो ।
प्रस्तावित लाभांश र हकप्रद स्वीकृतिका लागि बिमा प्राधिकरणसमक्ष पेस गरिने कम्पनीले जनाएको छ। प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।