• Menu

साइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो बेस्ट बैंकसहित तीन अवार्ड

नेपाल प्रफिट

२०८१ भदौ ८, शनिबार १२:५५

साइन रेसुंगा डेभलपमेन्ट बैंकले पायो बेस्ट बैंकसहित तीन अवार्ड

बुटवल । इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२३ अन्तर्गत नेपालबाट साइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंकसहित तीनवटा अवार्ड हात पारेको छ ।

इन्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा साइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फर्मेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ क्याटेगोरीमा पनि उत्कृष्ट हुँदै तीनवटा अवार्ड जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा साइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका छन् ।

नेपालबाटै एनआईसी एसिया बैंकले बेस्ट पर्फर्मेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फर्मेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटेगोरीमा अवार्ड जितेका छन् ।

इन्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि प्रदान गर्न थालेको यो अवार्डमा साइन रेसुंगाले पहिलो पटकमै बेस्ट पर्फर्मेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये साइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको थियो ।

बैंकले यसअघि न्यु बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड पनि जितेको छ ।

स्थापना कालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ,’ पौडेलले भने । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।

आठ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका लुम्बिनीमा ७२ सहित देशभर ८८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ एटीएम सञ्चालनमा छन् ।