• Menu

ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्टबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

नेपाल प्रफिट

२०८१ भदौ ६, १६:२८

ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्टबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरका छन् ।

आध्यान्त फन्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्शलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

आध्यान्त फन्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीको व्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।