काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
यस सेवाबाट नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रुपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने विश्वास राखिएको छ ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।
यो नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्छन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आएको छ ।
यो मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसनले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
आइएमई पे ले २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।