काठमाडौं । विदेश अध्ययन गर्न जाने नेपालीहरुमार्फत गत आर्थिक वर्ष २०८०/८१ मा सवा खर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार विदेश अध्ययन गर्न जानेहरुले गत वर्ष १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका हुन् ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १२५ अर्ब १३ करोड हो । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो ।
आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा थियो ।
समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण आय ६२ अर्ब ३० करोड रुपैयाँ थियो ।