• Menu

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई ५० लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

नेपाल प्रफिट

२०८१ भदौ २, १३:३१

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई ५० लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

काठमाडौं । सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न हुनेलाई बिगोबमोजिमको जरिवाना र तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा इन्साइडर ट्रेडिङमा हुने सजाय बढाएर प्रस्ताव गरिएको हो । विधेयक अर्थ मन्त्रालयले संसदमा दर्ता गराइसकेको छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३ मा हाल बिगोबमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने ऐनमा उल्लेख छ ।

हुँदै नभएको वा कृत्रिम वा झुटो कारोबार गरी, गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा उतारचढाव गराएको ठहरिनेछ । मूल्य उतारचढाव गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधेयकमा छ ।

हाल यस्तो सजायमा दोषी देखिए ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य गरेमा हुने सजाय पनि बढाइने प्रस्ताव विधेयकमा छ । कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने, खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले बजार मूल्य बढाउने वा घटाउने कार्य गरेमा अब बिगोबराबरको जरिवाना, बिगो नखुलेमा ५ लाखदेखि ५० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ ।

हाल यस्ता विषयमा दोषी देखिएकालाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा हुने सजाय जरिवाना पनि दर्ता भएको विधेयकमा बढाइएको छ । हाल यस्तो कारोबारमा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विधेयकमा बिगो खुलेकोमा बिगो बराबर जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा १० लाखदेखि ५० लाखसम्म जरिवाना वा तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

कुनै विवरण झुटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिने व्यवस्था ऐनमा छ ।