• Menu

कुन बैंकबाट पाइन्छ सस्तो ब्याजमा कर्जा ? आधार दर कुनको कति ?

नेपाल प्रफिट

२०८१ भदौ २, ११:४५

कुन बैंकबाट पाइन्छ सस्तो ब्याजमा कर्जा ? आधार दर कुनको कति ?

काठमाडौं । समष्टिगत मागमा आएको कमीका कारण कर्जा प्रवाह सुस्ताएर वित्तीय प्रणालीमा तरलता उच्च बन्दै जाँदा वाणिज्य बैंकहरुले लगातार ब्याज घटाइरहेका छन् ।

आर्थिक गतिविधि बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आएपछि बैंकहरुले लगातार कर्जाको ब्याज घटाएका हुन् ।

समष्टिगत मागमा आएको कमीका कारण उद्योगी व्यवसायीले उत्पादन नै कटौती गरिरहेका कारण कर्जाको मागमा कमी आएको हो । कर्जाको मागमा कमी आएर तरलता उच्च भएपछि बैंकहरुले ब्याजदर तीव्र दरमा घटाएका छन् ।

२०७९ माघ फागुनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत रहेकोमा २०८१ जेठमा १०.१५ प्रतिशतमा झरिसकेको छ । यो अवधिमा औसत आधार दर १०.७२ प्रतिशतबाट ८.१७ प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारको लक्ष्य ११.५ प्रतिशत राखेको थियो । तर, कर्जा विस्तार लक्ष्यभन्दा निकै कम अर्थात् ५.९७ प्रतिशतले मात्र भएको छ ।

गत वर्षभरमा कर्जा २ खर्ब ९१ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ७८ अर्ब रुपैयाँबाट ५१ खर्ब ६९ अर्ब रुपैयाँमात्र पुगेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप भने ७ खर्ब २२ अर्ब अर्थात् २२.५ प्रतिशतले बढेको छ ।

एक वर्षमा बैंक वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्बबाट बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै निक्षेप १३.१५ प्रतिशतले बढेर ५० खर्ब ८६ अर्बबाट ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा विस्तार ५.८६ प्रतिशतले बढेर ४३ खर्ब १८ अर्बबाट ४५ खर्ब ७१ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी कर्जा प्रवाह गर्ने साना तथा मझौला व्यवसाय क्षेत्रबाट पनि दुई वर्षदेखि कर्जाको माग अत्यन्तै सुस्त छ । यसको प्रभाव कर्जा विस्तारमा परेको छ ।

कर्जाको माग सुस्त हुँदा बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले चालु आवका लागि कर्जा वृद्धिदर लक्ष्य १२.५ प्रतिशत तोकेको छ ।

बैंकहरुको आधार दर (बेस रेट) भदौमा झन् तल पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिने ब्याजमा आएको कमीसँगै आधार दरमा कमी आएको हो ।

कुन बैंकले कति ब्याजदरमा दिन्छ कर्जा ?

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.०१ प्रतिशत छ । बैंकले २ देखि २.५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ ।

त्यस्तै एभरेस्ट बैंकको आधार दर ७.२९ प्रतिशत छ । बैंकले १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको छ ।

नबिल बैंकको आधार दर ७.६३ प्रतिशत छ । बैंकले १ देखि ३.५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७.८२ प्रतिशत आधार दरमा १.५ देखि ३.५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको छ ।

नेपाल बैंकको आधार दर ८.८७ प्रतिशत छ । बैंकले ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

त्यस्तै सानिमा बैंकले आधार दर ८.०३ प्रतिशतमा १.५ देखि ३.५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ८.०९ प्रतिशत आधार दरमा २.५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

कृषि विकास बैंकले पनि ८.१८ प्रतिशत आधार दरमा २.५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको छ ।

प्रभु बैंकले ८.२ प्रतिशत आधार दरमा ३ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको छ ।

त्यसैगरी सिद्धार्थ बैंकले ८.२ प्रतिशत आधार दरमा ३.२५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिइरहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकको आधार दर ८.२६ प्रतिशत छ । बैंकले ०.५ देखि ३ प्रतिशतसम्म प्रमियम थप गरेर कर्जा दिइरहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकको आधार दर ८.३ प्रतिशत छ । बैंकले १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ ।

एनएमबी बैंकको आधार दर ८.४२ प्रतिशत छ । बैंकले १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको छ ।

त्यसैगरी लक्ष्मी सनराइज बैंकले आधार दर ८.७ प्रतिशतमा बढीमा ४ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको छ ।

सिटिजन्स बैंकले पनि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको जनाएको छ । बैंकको आधार दर ८.७५ प्रतिशत छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकले ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको छ । बैंकको आधार दर ८.७७ प्रतिशत छ ।

हिमालयन बैंकले पनि ९.०८ प्रतिशत आधार दरमा २ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको छ ।

त्यस्तै कुमारी बैंकको आधार दर ९.२३ प्रतिशत छ । बैंकले १ देखि ३ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गरिरहेको छ ।

एनआइसी एसिया बैंकले पनि ९.२४ प्रतिशत आधार दरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइरहेको जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.३८ प्रतिशत छ । वाणिज्य बैंकहरुले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नसक्ने व्यवस्था छ ।

वाणिज्य बैंकहरुले जेठका लागि निर्धारण गरेको आधार दर हो यो । भदौका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याज थप घटाएकाले आधार दर थप घट्नेछ । बैंकले ऋणीलाई आकर्षित गर्न प्रिमियम पनि अझै कम गर्दै लगेका छन् ।