काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ मा १०८ प्रतिशतले नाफा वृद्धि गरेको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा ३८ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०८.११ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १८ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।
वित्तीय विवरणअनुसार गत आवमा कम्पनीले २ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६९ करोड ९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षमा कम्पनीको कुल बिमाशुल्क आर्जन ५८.९३ प्रतिशतले बढेको हो ।
कम्पनीले गत वर्ष १ अर्ब २० करोड ९२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ७२ करोड ४४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षमा ६६.९३ प्रतिशतले बढाएको हो ।
चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ९८ करोड ९७ लाख रुपैयाँ छ । त्यस्तै रिटेन्ड अर्निङमा १३ करोड १३ लाख र महाविपत्ति कोषमा ४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । अन्य इक्विटीमा ४६ करोड ६७ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
खुद नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष १५.५८ रुपैयाँ रहेको ईपीएस गत वर्षमा १८.३५ रुपैयाँ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ७२ पैसा छ ।