काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेको छ । कम्पनीले बुधबार प्रकाशन गरेको गत वर्षको वित्तीय विवरणअनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको हो ।
कम्पनीले गत वर्षको चौथो त्रैमाससम्ममा ३६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २०७९/८० को सोही अवधिमा कम्पनीले १७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १०४.४ प्रतिशतले बढेको हो ।
गत वर्ष कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ करोड ९३ लाख रुपैयाँ सञ्चित गरेको छ भने महाविपत्ति कोषमा ९ करोड ६ लाख रुपैयाँ राखेको छ । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ९५ करोड ६१ लाख रुपैयाँ छ ।
कम्पनीको जीवन बिमाकोषको आकार ४०.४९ प्रतिशतले बढेर १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीको जीवन बिमाकोषमा ७ अर्ब ३२ करोड रुपैयाँ थियो ।
गत वर्ष कम्पनीले ४ अर्ब ३७ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बिमा शुल्क आर्जन ११३.०८ प्रतिशत बढेको हो । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५ करोड कुल बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले गत वर्ष ४ अर्ब २३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्क आर्जन १२२.४ प्रतिशतले बढेको छ ।
चार अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०३ पैसा छ ।