काठमाडौं । गत साताभर सेयर बजार परिसूचक नेप्सेमा तीव्र उतारचढाव आएको छ । साताको पहिलो कारोबार भएको दिन सोमबार ४०.७६ अंकले बढेको बजारमा मंगलबार १४५.०५ अंकको पहिरो गएको थियो ।
तर, बुधबार लगानीकर्तामा फरक उत्साह देखियो । घटेको बजारबाट उनीहरुले उच्च संख्यामा सेयर उठाए । घटेको बजारबाट मौका उठाउन लगानीकर्ता हौसिएपछि त्यसदिन बजार १०८.३५ अंकले उचालियो ।
अन्तिम कारोबार हुने दिन लगानीकर्ता केही सम्हालिए । बजार ६.७ अंकले बढेर बन्द भयो ।
सोमबार २७५५.६२ अंकबाट खुलेको बजार बिहीबार १०.७६ अंकले बढेर २७६६.३८ अंकमा उक्लिएको छ । बजारको अधिकतम उचाइ २८१५.९४ अंक रह्यो ।
गत साता नै बजारले हालसम्मकै उच्च कारोबार रकमको रेकर्ड पनि बनाएको छ । यसबीचमा ६ दिन बजार घटेको छ भने २२ दिन बढेको छ । नयाँ सत्ता समीकरण बनेयता नेप्से परिसूचक ७२९.२९ अंकले बढेको छ ।
असार १६ देखि लगातार जसो उकालो लागेको बजार आगामी दिनमा के होला भन्ने चासो लगानीकर्तामा छ । सेयर बजार विश्लेषकहरुले ब्याजदर न्यून स्तरमा झरेको र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहजीकरण गरेकाले बजार तत्काल घट्ने सम्भावना नदेखिएको बताएका छन् ।
सेयर बजार घट्नु र बढ्नु सामान्य भएको सेयर बजार विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘नेप्से कहिल्यै सीधा रेखामा हिँड्दैन,’ उनी भन्छन्, ‘बजार उतारचढाव भएरै अघि बढ्छ ।’
बजारमा अल्पकालीन लगानीकर्ताको संख्या उल्लेख्य हुने उनले बताए । ‘लामो समय सेयर होल्ड गरेर पैसा बनाउनु निकै नै दिक्दार लाग्दो हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसैले पनि मानिसहरु छिटो पैसा बनाउनका लागि अल्पकालीन कारोबारमा बढी रुचि देखाउँछन् ।’