एजेन्सी । युगान्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहोर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।
नगरका अधिकारीहरुले भारी वर्षापछि कम्पालाको कितेजीमा फोहोर थुपारेको स्थानमा पहिरो जाँदा केही घर, मानिस र जनावर फसेको बताएका छन् ।
कम्पाला क्यापिटल सिटी अथोरिटी (केसीसीए)ले एक विज्ञप्तिमार्फत अहिलेसम्म मृत फेला परेका आठ व्यक्तिमध्ये दुई बालबालिकासमेत रहेको उल्लेख गरेको छ ।
केसीसीएले १४ जनालाई सकु्शल उद्धार गरी अस्पताल लगिएको जनाएको छ । उनीहरूको अवस्था भने खुलाएको छैन ।
नगर प्रशासनले भनेको छ, ‘उद्धार कार्य जारी छ । थप जानकारीलाई निरन्तर अपडेट गर्नेछौँ ।’