• Menu

स्थानीय तहले किनिदियो किसानले फलाएको आलुको बीउ

नेपाल प्रफिट

२०८१ साउन २५, शुक्रबार १०:५९

स्थानीय तहले किनिदियो किसानले फलाएको आलुको बीउ

पर्वत । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । पालिकाले १० लाख ७५ हजारभन्दा बढी मूल्यबराबरको आलुको बीउ खरिद गरेको हो ।

जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलो बीउ आलु स्थानीय तहले खरिद गरेको छ । पालिकाले नै आलु खरिद गरेपछि किसानलाई राहत मिलेको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए ।

बीउ आलु बिक्री गरेका किसानलाई १० लाख ७५ हजार ४७० रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले जानकारी दिए । प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार २७० किलो मूलबीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार ४७० रुपैयाँमा खरिद गरिएको छ ।

त्यस्तै नमुना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलो पहिलो पुस्ताको बीउ नौ लाख ६ हजारमा पालिकाले खरिद गरेको हो ।

बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यान गृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो ।

गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यान गृहमा भण्डारण गर्ने र हिउँदमा उनीहरुलाई नै बिक्री गर्ने गरेको छ । आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०/८१ मा २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पीबीएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएको थियो । ‘गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बीउ भित्र्याएर मूल बीउ उत्पादन गरी किसानलाई बिक्री वितरणको व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको शीतभण्डारमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ ।

जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नत जातको आलुको बीउ समयमै नपाउँदा निराश हुने किसानको समस्या समाधान भएको प्रगतिशील बीउ उत्पादन समूहका तारानाथ भुसालले बताए ।

यसैबीच गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी २९ लाख ७१ हजार राजस्व संकलन गरेको छ । गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार ९७७ किलो बीउ बिक्री गरी २१ लाख ९८ हजार आम्दानी गरेको हो ।