काठमाडौं । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ ।
यसैगरी, जापान गएपश्चात् विद्यार्थीले आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आधा करोडभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।