काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले मातहतका सेवाप्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।
नगरपालिकाले त्यसका लागि नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जी टु जी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डंगोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५ वडा कार्यालय, १५ स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४ सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसिटिभी कनेक्टिभिटीलगायतका सेवा टेलिकमले प्रदान गर्नेछ । दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाई हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।
टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि चोकहरुमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौता पत्रमा उल्लेख छ । नगर प्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जीपीएस जीआईएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए ।
‘नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ । यसबाट डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहनेछ,’ उनले भने ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआबद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिए । यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।
‘नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम् सोचका काम गरिरहेको छ,’ उनले भने, ‘यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँग सहकार्य भएको हो ।’