• Menu

‘हसिना युग’को अवसानसँगै बंगलादेशी अर्थतन्त्र ‘साउथ एसियन टाइगर’ संकटमा !

नेपाल प्रफिट

२०८१ साउन २१, २२:२८

‘हसिना युग’को अवसानसँगै बंगलादेशी अर्थतन्त्र ‘साउथ एसियन टाइगर’ संकटमा !

एजेन्सी । चर्को राजनीतिक संकटसँगै प्रधानमन्त्री शेख हसिना वाजेदले देश छाडेपछि ‘साउथ एसियन टाइगर’को उपमा पाएको बंगलादेशी अर्थतन्त्र संकटमा पर्ने अड्कलबाजी सुरु भएको छ ।

हसिनाका छोरा सजीव वाजेदले बिबिसी वर्ल्ड सर्भिससँग कुराकानीका क्रममा ‘अब आमाको राजनीतिक पुनरागमन नहुने’ अभिव्यक्ति दिनुले पनि बंगलादेशमा राजनीतिकसँगै आर्थिक संकट गरिरिने अड्कल हुन थालेको हो ।

अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरिरेहेकी हसिनाको बहिर्गमनसँगै करिब १५ वर्षको स्थिर राजनीति पनि अस्थिरतामा परिणत भएको टिप्पणी अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

बंगलादेशमा प्रदर्शन उच्च भएपछि हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । उनको सुरक्षाका लागि परिवारले नै देश छाड्न दबाब दिएको छोरा वाजेदले उल्लेख गरेका छन् ।

करिब १० वर्षयता बंगलादेशको आर्थिक वृद्धिदरले तीव्रता पाएको थियो । हसिनाले ‘असफल राज्य’ भनिन थालेको अवस्थामा बंगलादेशको सत्ता हातमा लिएकी थिइन् । तर, उनी कार्यकारी भूमिकामा रहेको डेढ दशकको अवधिमा बंगलादेशलाई ‘विकसित एसियन टाइगर’को उपमा दिलाएकी थिइन् ।

बंगलादेशलाई कपडा उद्योग, सूचना प्रविधि र औषधि उत्पादनमार्फत दक्षिण एशियाको उदीयमान अर्थतन्त्रका रुपमा समृद्धितर्फ अघि बढाउनमा हसिनाको मुख्य भूमिका छ । ७६ वर्षीया हसिना सन् २००९ देखि सत्तामा थिइन् । उनले चार पटक लगातार चुनाव जितेकी थिइन् ।

उनी हाल हाल भारतमा छिन् र उनी त्यहाँबाट बेलायत जाने चर्चा छ । हसिनाले छाडेपछि बंगलादेशमा सेना प्रमुखले अन्तरिम सरकार बनाउन तयारी गरेका छन् ।

कसरी सुरु भयो प्रदर्शन ?

बंगलदेशमा आरक्षणविरूद्धको प्रदर्शनले उग्र रुप लिएको हो । भूतपूर्व सेनाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएको हो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थी आन्दोलित भएका थिए । जुलाई पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको हो ।

जुलाई तेस्रो साता उच्च अदालतको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले आरक्षणलाई ५ प्रतिशतमा सीमित गर्न आदेश दिएको थियो । आदेशमा १ प्रतिशत जनजाति समुदाय र १ प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि छुट्याउन भन्यो । सर्वोच्चले ९३ प्रतिशतलाई मेरिटका आधारमा बनाउन आदेश दिएको थियो ।

सरकारको निर्णयविरुद्ध सर्वोच्चले आदेश दिँदासम्म करिब २ सय जनाको ज्यान गइसकेको थियो । विद्यार्थीले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायतका माग राख्दै प्रदर्शनलाई निरन्तरता दिए ।

तर, आफ्ना मागलाई बेवास्ता गरेपछि विद्यार्थीले हसिनाको राजीनामा माग्न थाले । विद्यार्थीको प्रदर्शनमा समाजका अन्य तप्काका मानिस र विपक्षी दलहरु पनि जोडिएपछि संकट थपिँदै गयो । अन्तत: असुरक्षा बढेपछि उनी राजीनामा दिएर देश नै छाडेर भाग्नुपरेको छ ।

प्रदर्शनका क्रममा हालसम्म ३१५ भन्दा बढीले ज्यान गुमाएका छन् । आइतबारमात्रै ९१ जनाको ज्यान गएको थियो । यस्तै सोमबार ढाकामा भएको प्रदर्शनमा झडप हुँदा २० जनाको मृत्यु भएको छ ।