• Menu

१६ जिल्लाका १४० व्यावसायिक फर्मलाई कारबाही

नेपाल प्रफिट

२०८१ साउन १८, शुक्रबार १५:१९

१६ जिल्लाका १४० व्यावसायिक फर्मलाई कारबाही

बाँके । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा १४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् ३२ लाख ९५ हजार राजस्व संकलन गरेको छ ।

बिलविजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएको लगायतका कारण ती फर्मलाई न्यूनतम् पाँच हजारदेखि अधिकतम् दुई लाख रुपैयाँसम्म जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा ६२८ फर्मको अनुगमन गर्दा १४० मा कैफियत भेटिएपछि त्यस्ता फर्मलाई जरिवाना गरिएको हो । तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आवमा अनुगमन गर्दा ३४९ फर्म सामान्य अवस्थामा रहेको देखिएको थियो ।

सामान्य कैफियत देखिएका १३९ फर्मलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । कार्यालयले गत आवमा दुई फर्मको कारोबार रोक्का गरेको छ ।

वाणिज्य कार्यालयले किराना खाद्यान्न, मासु फ्रेस हाउस, मार्ट, पानी उद्योग, कस्मेटिक, कपडा जुत्ता पसल, अटो पार्टस्, कम्प्युटर सेवा, मदिरा सुर्तीजन्य पदार्थ, दुग्ध तथा तरकारी पसल, भाँडावर्तन, मनी ट्रान्सफर, सुनचाँदी, स्टेसनरी, हार्डवेयरलगायतका फर्मको अनुगमन गर्दै आएको छ ।

कार्यालयले म्याद नाघेका, खान अयोग्य, बिक्री गर्न अयोग्य मालसामान जफत गरी नष्टसमेत गर्दै आएको छ । कार्यालयले नेपालगन्जमा गत आव २०८०/८१ मा पाँच लाख ७२ हजार ९३ रुपैयाँबराबरको मालसामान नष्ट गरेको जनाएको छ ।