• Menu

बिरामीको मृत्यु भएपछि बीपी कोइराला क्यान्सर अस्पतालका दुई नर्स निलम्बित, २३ जनासँग स्पष्टीकरण माग

नेपाल प्रफिट

२०८१ साउन १७, १२:५४

बिरामीको मृत्यु भएपछि बीपी कोइराला क्यान्सर अस्पतालका दुई नर्स निलम्बित, २३ जनासँग स्पष्टीकरण माग

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई नर्सलाई निलम्बन गरिएको छ । उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

घटनापछि दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो ।

बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।

अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए ।

उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर असार १३ गते राति मृत्यु भएको थियो ।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टामुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर यकिन गरिएको थियो । त्यसपश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,’ उनले भने ।

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले साउन ३ गते प्रतिवेदन बुझाएको महतोले बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार अध्ययन टोलीले प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको हो । यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

‘काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने छौँ,’ उनले भने ।