• Menu

विपन्न ६ परिवारलाई नगरपालिकाको घर उपहार, १६ लाख ८० हजार लागत

नेपाल प्रफिट

२०८१ साउन १६, बुधबार ०९:३८

विपन्न ६ परिवारलाई नगरपालिकाको घर उपहार, १६ लाख ८० हजार लागत

स्याङ्जा । चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न ६ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट-१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका-४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मंगलबार हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए ।

‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ,’ केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाइदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ ।’

गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै नगरपालिका घर निर्माण गर्ने तयारीमा छ । प्रतिघर दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा ६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख खाणले बताए ।

नगरपालिकाका वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो ।