बागलुङ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा बागलुङमा एक हजार ८१५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।
खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो ।
नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई द्रुतगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार ११८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् ।
आर्थिक वर्ष २०७९/८० मा नेवाले निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका र बागलुङ नगरपालिका जैमिनी नगरपालिकाका ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो ।
तीस वटा आयोजना सम्पन्न गर्न नेवाले ६ करोड २० लाख पाँच हजार ७२५, पालिकाहरुको एक करोड ६४ लाख ९५ हजार ९१४, उपभोक्ताबाट ३४ लाख ८३ हजार ५१२ र दुई करोड पाँच लाख १२ हजार ३१२ रुपैयाँबराबरको श्रमदान भएको छ ।