• Menu

वीरगन्ज महानगरले तीन उद्योगको मुख्य द्वारमा थुपारिदियो फोहोर

नेपाल प्रफिट

२०८१ साउन १४, १०:३०

वीरगन्ज महानगरले तीन उद्योगको मुख्य द्वारमा थुपारिदियो फोहोर

पर्सा । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीनवटा उद्योगको मुद्य द्वारमा फोहोरमैला थुपारिदिएको छ । सिर्सिया नदीमा फोहोरमैला नमिसाउन गरेको बारम्बारको आग्रह बेवास्ता गरेपछि कारबाही स्वरुप ती उद्योगको मुख्य द्वारमा फोहोरमैला थुपारिदिएको महानगरले जनाएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको मुख्य द्वार प्रांगणमा फोहोर थुपारिदिएको छ ।

वीरगन्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतीकात्मक कारबाहीस्वरुप आइतबार फोहोरमैला खसालिदिएको बताए । ‘उद्योगबाट निस्कने फोहJरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ,’ उनले भने, ‘नमानेपछि निर्देशनअनुसार फोहोरमैला थुपारिदिएका हौं ।’

महानगरले सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले बेवास्ता गर्दै आएका छन् । महानगरले गत वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । तर, उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका छन् ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहोरमैला गर्ने उद्योगमा फोहोर फ्याँक्ने कार्यक्रम रहेको बताए ।