• Menu

साढे ६ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

नेपाल प्रफिट

२०८१ साउन ८, ०९:०१

साढे ६ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

सुर्खेत । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।

संघीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिनुपरेको छ । प्रदेश संरचना कार्यान्वयन भएको साढे ६ वर्षमा कर्णालीमा माओवादीबाट दुई जना मुख्यमन्त्री र १८ जना मन्त्री बने ।

अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य हुनेछ । सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य वेदराज सिंहले बताए ।