पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व संकलन गरेको छ । गत आवमा अन्त:शुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर परेको हो ।
कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व संकलन गरेको जानकारी दिए ।
‘गत आवमा मूल्य अभिवृद्धि कर र आयकर संकलन उत्साहजनक छ,’ उनले भने, ‘गत आवमा अन्तःशुल्कबापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व संकलनमा असर पारेको छ ।’
आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार र मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार संकलन गरेको छ ।
सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, गत आवमा हिमालयन डिस्टिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकम प्रत्यक्ष प्रभावित भएको छ । कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार संकलन गरेको छ ।
प्रमुख कर अधिकृत तिवारीले राजस्व संकलन बढाउन नियमित बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आएको बताए । विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सात अर्ब १४ करोड संकलन भएको थियो ।
कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।