एजेन्सी । जापानमा बैंकबाट लिएको ऋण तिर्न नसकेर उद्योग व्यवसाय बन्द (दिवालिया) हुने क्रम तीव्र दरमा बढेको छ । व्यवसाय खस्किएर बैंकको साँवाब्याजसमेत तिर्न नसक्ने अवस्था आएपछि बन्द गर्न उद्योगी व्यवसायी बाध्य भएका हुन् ।
जापानमा सन् २०२४ को पहिलो ६ महिनामै करिब ५ हजार उद्योग व्यवसाय टाट पल्टिएका छन् । क्रेडिट रिसर्च कम्पनीको सर्वेक्षणअनुसार विगत वर्षहरुको तुलनामा उद्योग व्यवसाय बन्द हुने क्रम २२ प्रतिशतले बढेको छ र यो १० वर्षयताकै उच्च हो ।
बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा टाट पल्टिने व्यवसायीको संख्या सन् २०१४ यताकै उच्च बनेको सर्वेक्षणमा उल्लेख छ । जनवरीदेखि जुनसम्म बन्द भएका व्यवसायीको संख्या चार हजार ८८७ पुगेको छ ।
टेइकोकु डाटा बैंकको अनलाइन रिपोर्टमा उल्लेख भएअनुसार विगत वर्षहरुको तुलनामा टाट पल्टिने उद्योग व्यवसायको संख्या उच्चदरमा बढेको हो । टाट पल्टिनेमा सबैभन्दा बढी सेवा क्षेत्रका एक हजार २२८ उद्योग व्यवसाय छन् । त्यसपछि खुद्रा क्षेत्रका एक हजार २९ र निर्माण क्षेत्रका ९१७ रहेको तथ्यांकले देखाएको छ ।
टाट पल्टिने साना तथा लघु उद्यमको संख्या सबैभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो लागत र श्रमिक अभावको समस्याका बीच जापानी मुद्रा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक परिदृश्य थप जटिल भएको जनाइएको छ ।
उपभोगमा आएको कमीका कारण पनि उद्योग व्यवसाय प्रभावित भएको टेइकोकुले जनाएको छ । सन् २०२४ का पछिल्ला महिनामा व्यावसायिक क्षेत्रले थप संकटको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ मा १० हजारभन्दा बढी उद्योग व्यवसाय ‘टाट पल्टिने’ अनुमान गरिएको छ ।
जापानी कम्पनीहरूले जुन महिनामा मात्रै थप ८०७ उद्योग व्यवसायको कानुनी रुपमा लिक्विडेसन प्रक्रिया अघि बढाएका छन् । जापानमा २६ महिनायता उद्योग व्यवसाय लिक्विडेसन गर्ने क्रम लगातार बढिरहेको छ ।
कोभिड‑१९ महामारीपछि जापानमा साना तथा लघु उद्यम बढी प्रभावित भएका छन् । कोभिड-१९ महामारीसँग लड्न निजी र सरकारी वित्तीय संस्थाहरुले उपलब्ध गराएका शून्य ब्याजदर या विनाधितो ऋण सुविधा दिन छाडिएपछि व्यवसाय धरापमा परेको सर्वेक्षणमा उल्लेख छ ।