एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणबाट भगवानको कृपाले बाँचेको बताएका छन् ।
पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘म आज राति यहाँ हुने थिइनँ ।’
ट्रम्पले घटनाको स्मरण गर्दै चर्को आवाज सुनेको र दाहिने कानमा चोट लागेको महसुस गरेको बताए । ‘मैले तत्काल आफ्नो कानमा हात लगेँ, जुन रगतले ढाकिएको थियो । हामीमाथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो,’ उनले भने ।
सिक्रेट सर्भिसका कर्मचारीहरुले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनले बताए ।
‘मैले गोली प्रहार भएको अन्तिम क्षणमा टाउको नचलाएको भए हत्याराको गोली निशानामा लाग्ने थियो र म आज राति यहाँ हुने थिइनँ । हामी सँगै हुने थिएनौँ,’ ट्रम्पले भने ।