काठमाडौं । विदेश पढ्न जानेहरुमार्फत ११ महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ बाहिरिएको हो ।
गत वर्षको तुलनामा यो रकम २८ अर्ब रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा विदेश पढ्न जानेमार्फत ८९ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ५८ अर्ब ६ करोडले घाटामा छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोडले घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ३० अर्ब थियो ।