काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति दर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् ।
त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत जेठमा ४.१७ प्रतिशत छ ।
खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७६ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४८ प्रतिशत छ ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोडले बचतमा छ भने पुँजीगत ट्रान्सफर पाँच अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यो अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको छ ।
यो अवधिमा आयात १.८, निर्यात ३ र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ । जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।